कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपालमा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपालमा

कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ ।

राजा थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलवार दिउँसो नेपाल आइपुग्नुभएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

राजा थानीलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उहाँसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ ।

त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको बताईएको छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।

यसैगरी अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा) का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको द्विपक्षीय भेटवार्ता लगतै होटेल सोल्टीमा राजकीय रात्रिभोज हुनेछ । त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ ।

उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उहाँको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्ने बताईएको छ ।

दिवा भोजमा सहभागी भएपछि उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उहाँ दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको बताईएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);