नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता मा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता मा हस्ताक्षर

electricity

काठमाडौं,१५ माघ । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।प्राधिकरणमा आज आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिउक यीले हस्ताक्षर गरे । सो आयोजना नै अमेरिकी डलरमा पिपिए गरिएको हालसम्मकै सबैभन्दा ठूलो परियोजना हो । राजधानीबाट सबैभन्दा नजिक रहेको सो परियोजना सुक्खायाममा समेत ‘फम पावर’ प्रदान गर्नेछ ।

कूल २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरिएको हो । अधिकतम् १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु हुने दिनदेखि ऋण चुक्ता अवधि जुन समय पहिले हुन्छ सोही अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ ।

सो अवधि सकिएपछि सबै भुक्तानी नेपाली मुद्रामा नै हुने तथा डलर सटही मूल्यलाई स्थिर राखिने स्पष्ट पार्दै उहाँले प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा प्रतियुनिटमा खरिद गर्ने र कुनै पनि थप आर्थिक दायित्व नपर्ने बताए । प्राधिकरण सञ्चालक समितिको गत बुधबारको बैठकले विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो ।

विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा निश्चित गरिएको र त्यस्ता आयोजनामा स्वपूँजीको अंश २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली १ लाई पनि वार्षिक तीन प्रतिशतका दरले आठपटक साधारण मूल्यवृद्धि पाउने व्यवस्थासहितको निर्णय गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले त्यसो हुँदासमेत स्वदेशी आयोजनालाई भन्दा बढी भुक्तानी गर्नु नपर्ने उल्लेख गरे ।

सो आयोजनासँग अमेरिकी डलरमा सम्झौता गर्दा विदेशी विनिमय जोखिम व्यहोर्न एक कोष स्थापना गर्ने सहमति भएको छ ।नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार कम गर्न नेपाल राष्ट्र बैंकले विशेष कोष ‘हेजिङ फण्ड’ स्थापना गर्नेछ । उक्त कोष सञ्चालन, स्थापना तथा नियमनको ढाँचा बैंकले तयार गर्ने तथा सरकार प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा हिस्सा रहने व्यवस्था गरिने सहमति भएको छ ।

माथिल्लो त्रिशूली १ मा कोरियाली लगानीकर्ता, अन्तर्रा्ष्ट्रिय वित्त संस्था (आइएफसी) र नेपाली लगानीकर्ताको रु ५५ अर्ब लगानी रहेको छ ।कार्यकारी निर्देशक घिसिङले विगतमा प्राधिकरणले केही आयोजनासँग गरेको सम्झौताका कारण आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भए पनि पछिल्ला दिनमा भएका सम्झौतामा ती विषयलाई सम्बोधन गरिने यस अघि नै बताइ सकेका छन ।

प्राधिकरणले यसअघि खिम्ती ६० मेगावाट, माथिल्लो भोटेकोशी ४५ मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ५० मेगावाट, काबेली ए ३७ दशमलव ६ मेगावाट, रसुवा भोटेकोशी १२० मेगावाट क्षमताका आयोजनासँग अमेरिकी डलरमा सम्झौता गरेको छ । ती आयोजनामध्ये सञ्चालनमा आइसकेका खिम्ती, माथिल्लो भोटेकोशी र माथिल्लो मस्र्याङ्दी ए को खरिद दर प्रतियुनिट क्रमशः १० रुपैयाँ ९५ पैसा, ११ रुपैयाँ १६ पैसा र सात रुपैयाँ ३५ पैसा रहेको छ । खिम्तीको हकमा सरकारलाई तिर्ने सलामी दस्तुरसमेत प्राधिकरणले नै तिर्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);