ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी

mathillo trishuli 1

काठमाडौं, १७ कात्तिक । नेपालको ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिएको छ । कोरियाली र नेपालीसमेत सह–लगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नौ दातृ निकायले ४५ करोड ३२ लाख अमेरिकी डलर (नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको अमेरिकी डलरको मूल्य बराबर करीब रू. ५१ अर्ब २१ करोड) लगानी गर्ने सम्झौता गरेका हुन् ।

रसुवाको हाकु र मैलुङको बीचमा निर्माण हुन लागेको आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी र ऋण लगानी गर्ने विभिन्न अन्तरराष्ट्रिय वित्तीय संस्थाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा प्रवर्द्धक कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक ई र सम्बन्धित वित्तीय संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा शुक्रवार काठमाडौंमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरिएको हो । आयोजनाको लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीबाट लगानी जुटाइनेछ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ । ऋणबाहेकको रकम भने स्वपूँजीबाट जुटाइने बताइएको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो । कार्यक्रममा दिइएको जानकारीअनुसार आयोजनामा विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एशियाली विकास बैंक (एडीबी) ले ६ करोड, एशियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली आयात निर्यात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडीबी) ले ३ करोड ८ लाख अमेरिकी डलर ऋण लगानी गर्ने छन् ।

यसैगरी, सीडीसी ग्रुप पीएलसी (सीडीसी)को २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ)को १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) १ करोड १० लाख र अन्तरराष्ट्रिय विकासका लागि ओपेक फण्डको (ओएफआईडी)को १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ । द बैंक अफ न्यूयोर्क मेलनले ‘अफसोर एकाउण्ट’ र नेपाल इभेष्टमेन्ट बैंकले ‘अनसोर एकाउण्ट’ बैंकका रुपमा काम गर्ने समझदारी भएको छ । यो समाचार आजको अभियान दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);