रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो

काठमाडौं,२३ चैत्र । चालु आर्थिक वर्षको आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको तथ्यांक छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । यस्तै आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ । यस्तै विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ ।

असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी मुद्रा सञ्चिति २१ दशमलव सात प्रतिशतले बढेर फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसले नेपाललाई १४ महिनाभन्दा बढीको वस्तु आयात र १२ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अघिल्लो वर्षको आठ महिनामा ५५ अर्ब २८ करोडले घाटामा रहेको चालु खाता अहिले एक खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचत छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति एक अर्ब ४२ अर्ब रुपैयाँले बचतमा थियो ।नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै ८ महिनाको अवधिमा ८० अर्ब १४ करोड विदेशिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);