काठमाडौं,१९ चैत्र । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले पहिलो जित दर्ता गरेको छ । चेन्नई सुपर किंग्सलाई २० रनले हराएर दिल्लीले यो सिजनको तेस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । विशाखापटनममा भएको खेलमा जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रनमा सिमित रह्यो ।
अघिल्ला दुवै खेल जितेको चेन्नईले भने सिजनको पहिलो हार हो । दुवै ओपनरलाई तेस्रो ओभरभित्र गुमाएको चेन्नई त्यसपछि खेलमा फर्कन सकेन । कप्तान रुतुराज गैक्वाड र रचिन रविन्द्र दुवै खलिल अहमदको बलमा क्याच आउट हुँदा चेन्नईले ७ रन मै २ विकेट गुमायो । तेस्रो विकेटका लागि अजिंक्या रहाने र ड्यारल मिचेलले ६८ रनको साझेदारी गरे ।
मिचेलले ३४ र रहानेले ४५ रन बनाए । शिवम दुवेले १८ महेन्द्र सिंह धोनीले ३७ र रविन्द्र जडेजाले अविजित २१ रन बनाए । त्यसअघि कप्तान ऋषभ पन्त र ओपनर डेविड वार्नरको अर्धशतकमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । वार्नर र पृथ्वी शाले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए । शाले ४३ , वार्नरले ५२ र ऋषभले ५१ रन जोडे ।
चेन्नईका मथिसा पथिरानाले ३ तथा रविन्द्र जडेजा र रहमानले १–१ विकेट लिए । यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ । अब आइपिएलमा मुम्बईले मात्र जित दर्ता गर्न बाँकी छ । सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।