स्वास्थ्यको भत्तादेखि साइकल खरिदसम्म जोगिएका हरि मैनाली | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

स्वास्थ्यको भत्तादेखि साइकल खरिदसम्म जोगिएका हरि मैनाली

काठमाडौं,४ चैत्र। नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली स्वास्थ्यको भत्तादेखि साइकल खरिदसम्म जोगिएको पाइन्छ । उनलाई अख्तियार दुरूपयोग आयोगले ती प्रकरणमा उन्मुक्ति दिएको खुल्न आएको छ । पाल्पाको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हुँदा उपस्थिति नै नभई भत्ता बुझेको आरोपमा अख्तियारको छानबिन दायरामा आएर जोगाइएका मैनाली मधेश प्रदेशको प्रमुख सचिव हुँदा पनि जोगिएको पाइएको छ । यो विषयमा अख्तियारका अधिकारीहरु नै छक्क परेका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालयबाट गुणस्तरहीन साईकल खरिदको अनियमिततामा संलग्नमध्ये कारबाही गर्नुपर्नेमा तत्कालीन प्रमुख सचिव हरिप्रसाद मैनालीलगायत पनि रहेको अख्तियारका अनुसन्ध अधिकारीहरू सुनाउँछन् । उक्त प्रकरणमा अर्जुन पोखरेल, गोकर्णमणी दवाडी र दीपक सुवेदीले पनि अख्तियारबाट उन्मुक्ति पाएको बुझिन्छ । मैनाली हाल महालेखा नियन्त्रण कार्यालयमा सचिवकारुपमा कार्यरत रहेका छन् ।

सचिव भएको एक वर्षमै मधेश प्रदेश, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, उपराष्ट्रपतिको कार्यलय र महालेखा नियन्त्रण कार्यालय चाहारेका मैनालीलाई ‘तिहुन चखुवा’ सचिव भनेर सचिव वृत्तमा चर्चा हुने गरेको छ । मधेश प्रदेशमा साईकल खरिद काण्डमा अख्तियारले अनुसन्धानको तीर सोझ्याउने निश्चित भएपछि उनीलगायत संलग्नहरू अख्तियार मिलाउने भन्दै गठबन्धन बनाएर तल्लिन भएको चर्चा थियो । नभन्दै अख्तियारमा राजनैतिक प्रभाव हावी हुन पुग्यो । मुख्यमन्त्रीविरुद्ध मुद्दा लग्नुपर्ने लगभग निश्चित भएपछि मैनाली, पोखरेल, दुवाडी र सुवेदीले समेतलाई अख्तियारले जोगाएको आरोप लाग्ने गरेको छ । १० करोड ३३ लाख रुपैयाँ बिगो कायम भएको गुणस्तरहीन साईकल खरिद निर्णय एवं भुक्तानीमा जोडिएकाहरुलाई अख्तियारले उन्मुक्ति दिएको आरोप लाग्दै आएको हो । तर हालसम्म पनि राज्यको यत्रो रकम खर्च भएका ती साईकलहरु खिया लागेर बसेका छन भने त्यसमा संलग्नहरु पुरस्कृत भई रहेका छन् ।

हालका राष्ट्पतिका ज्वाईं भनेर धाक लगाउने मैनाली एक वर्ष पनि मधेश प्रदेशमा नबसी महिला मन्त्रालय सरुवा भएर आए । त्यहाँ पनि उनले केही आर्थिक गडबडी गर्न लागेको कुरा तत्कालीन मन्त्री उमा रेग्मीलाई कसैले सुनाईदिएपछि मन्त्रीले उनलाई कारबाही गर्ने भन्ने अवस्थामा उनी मन्त्रीसँग भनाभन गरेरे उपराष्ट्रपतिको कार्यालय सरुवा भए । अधिकृत हुँदा र सहसचिव हुँदा महिला मन्त्रालयमा लामो समय बसेर खाईखेली हुर्किएका मैनालीले त्यहाँ मन्त्रीलाई नटेरी आफूखुशी गर्ने छाँट देखाएपछि करिब ३ महिनामै सरुवा भएको महिला मन्त्रालय उच्च स्रोत बताउँछ ।

उपराष्ट्रपति कार्यालयमा समेत उनी ३ महिना पनि टिक्न सकेनन् । धेरै नबोली भित्रभित्र गोटी चाल्ने र सोर्षफोर्स लाउने कार्यमा सिपालु सचिव मैनाली सो पश्चात महालेखा नियन्त्रक कार्यालयमा जमेर बसेका छन् । गृह सचिव हुन अहिलेका सचिवहरुमध्ये सबैभन्दा आफूलाई योग्य भनेर गफ हाँक्ने गरेको उनका सहकर्मीहरु बताउँछन् । गृह मन्त्रालय, लोक सेवा आयोग वा अख्तियारमध्ये कुनै एक निकायमा मात्र सरुवा भएर जाने भनी जेहाद छेडेका मैनाली सरकार परिवर्तन भएसँगै पुनः शक्तिकेन्द्र धाउने कार्यलाई केही समय रोकेर पर्ख र हेरको अवस्थामा रहेको महालेखाका अधिकारीहरु सुनाउँछन् । लेखाको सरुवामा एउटा सानो समूहलाई परिचालन गरेर सरुवा सेटिङमा निकै विवादित भई वेलावेलामा विभिन्न मिडियामा समाचारहरु छताछुल्ल भईरहेको अवस्था छ ।

मैनाली पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा कार्यक्षेत्रमा नगई स्वास्थ्य कार्यालयबाट दैनिक भ्रमण भत्ता बुझेको र कार्यालयमा नै बसेको देखिएको भनी अख्तियारमा उजुरी पऱ्यो । उनलाई बयानको लागि समेत बोलाईयो । सबै प्रमाण एवं कागजातहरुले उनी कार्यालयमा हुँदा स्वास्थ्यलगायत अन्य कार्यालयबाट समेत दैनिक भ्रमण भत्ता बुझिएको देखिए पश्चात उनलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउने निश्चित थियो । तर तत्कालीन प्रमुख आयुक्त नविन घिमिरे गृह कै क्याडेट भएको हुँदा उनले मैनालीलाई कारबाही हैन संरक्षण गरेको आरोप लाग्दै आएको छ । दैनिक भ्रमण भत्ताको रकम फिर्ता गर्न लगाएर उनको उजुरीलाई त्यसै डिसमिस पारिएको थियो । यसरी पटकपटक अख्तियार दुरुपयोगको फन्दामा पर्दै जोगिदै गरेका मैनाली एक मात्र भाग्यमानी सचिवको रुपमा अहिलेसम्म ढुक्कले जागिर खाईरहेका छन् । स्वास्थ्यलाइभबाट

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);