प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको सोमवार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।

त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षको रुपमा मलाई आवश्यक निर्णय गर्ने जिम्मेवारी पनि बैठकले दिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निर्णय गरेको छ । दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको अध्यक्ष लिङदेनले बताउनु भयो । त्यसैगरी बैठकले आगामी चैत्र १६ गते हुने भनिएको काठमाडौं केन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘खासगरी प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर शुरु गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित जनप्रर्दशन एसईई परीक्षाका कारण आम विद्यार्थीहरुको भविष्य, अभिभावकहरुको आग्रह र सुभेच्छुकहरु सबैको सुझावलाई समेत ध्यान राखेर आगामी चैत्र २७ गते गर्ने निर्णय गरिएको छ । त्यस्तै गरेर राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, जुन कुरा हामीले यो गठबन्धन निर्माणको प्रारम्भमा नै व्यक्त गरिसकेका थियौं । र पार्टीले अहिले आधिकारिक रुपमा पनि निर्णय गरेको छ–राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने । विश्वासको मत दिने क्रममा विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ । त्यस्तै गरेर राष्ट्रिय राजनीतिमा केन्द्रिय स्तरमा हुने निर्णय प्रदेश स्तरमा हुनु, गरिनु उपयुक्त होइन । यो दृष्टिकोणलाई हामल कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिने निर्णय भएको छ । त्यस्तै गरेर फागुन २७ गते कार्य सम्पादन समितिको बैठकका क्रममा खानको लागि बैठक स्थगित गरेको समयमा कार्य सम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्याशित रुपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति बैठक गम्भिर खेद व्यक्त गर्दछ । तत्काल सामाजिक सञ्जालमा आएको भिडियो, घटनास्थलमा देखिएका नेता र पीडितसमेतबाट जानकारी लिएर थप अनुसन्धान समेत गरी ४८ घण्टा भित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेश गर्न केन्द्रिय अनुशासन समितिमा कार्य सम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन दिनुभएको थियो । र अनुशासन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ । इलाममा हुने प्रतिनिधिसभाको निर्वाचनमा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ । साथै उम्मेदवार छनौंटका लागि सम्बन्धित प्रदेशका अध्यक्षल सम्बन्धित जिल्लाको अध्यक्षसंग समन्वय गरि उम्मेदवार सिफारिश गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ । ४० वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालिस वर्ष मुनिकालाई खुला रुपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जन सहित स्वीकृत गरिएको छ। साथै, खुला केन्द्रीय सदस्य छनौट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा डा। गीताभक्त जोशी र डा। जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ । पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य श्री तोरण बहादुर गुरुङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनीयर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ नविन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैत्रसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका सदस्यहरु आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ । पार्टीको अनुशासन उल्लंघन सम्बन्धमा परेका उजुरीहरुमाथि केन्द्रीय अनुशासन समितिबाट प्राप्त सिफारिशहरुमध्ये बाँके र शंखरापुर नगर कार्यसमिति बाहेकका विषयमा समितिको सिफारिस अनुसार गर्ने, बाँके तथा शंखरापुरको हकमा बरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापालाई शंखरापुर र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र लुम्विनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयलाई बाँकेको समस्या समाधानका लागि एकपटक मेलमिलापको प्रयास गर्ने जिम्मेवारी प्रदान गरिएको छ। गत आमनिर्वाचनमा बाँके क्षेत्र नं। १ को प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः प्रदिप शाह र अर्जुनजंग शाहले पार्टीको निर्णय विपरित उम्मेदवारी दिई पार्टी अनुशासन उल्लघंन गरेकाले एक वर्षका लागि पार्टीबाट निश्कासन गर्ने। तर, निजहरूले आत्मालोचना सहित पार्टीमा फर्किन चाहे साधारण सदस्यता लिई पार्टीमा प्रवेश गर्नसक्ने निर्णय गरिएको छ । मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारवाहीका कारण समस्यामा परेका ऋणी तथा वचतकर्ताहरुको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ । रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कुटनैतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरुको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसंग राप्रपा माग गर्दछ । दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउदछ । सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नता सम्बन्धि भिडियो सन्चार माध्यममा सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानूनी कारवाहीको प्रकृया अघि बढाउन राप्रपा सरकारसँग माग गर्दछ ।’

राप्रपाले पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्नमाथि कारबाही गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष लिङदेनलाई दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);