काठमाडौं,२५ फागुन । आज मार्च ८ तारिख ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भएपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव पारित भएपछि सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो । यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्।