खोकना पुग्यो नापी टोली | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

खोकना पुग्यो नापी टोली

ललितपुर, १३ माघ । वर्षौंदेखि बस्दै आए पनि जग्गाको लालपुर्जा नभएकाले घर बनाउन नपाएकी ८४ वर्षीया भूकम्पपीडित धनकुमारी महर्जनको मुहारमा थोरै भए पनि कान्ति छाएको छ । नापी कार्यालय ललितपुरले उनीजस्ता लालपुर्जाविहीनहरूको जग्गा नापनक्साका लागि बाटो खोलिदिएपछि खोकना माझटोल बस्दै आएकी महर्जनको मुहारमा खुसी छाएको हो । खोकनामा उनीजस्ता नौ सय ४४ घरधुरी लालपुर्जाविहीन छन् ।

ललितपुर महानगरपालकिा २१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले लालपुर्जाविहीनहरूलाई लालपुर्जा दिलाउन निकै पहल गर्नुपरेको बताए । उनले भने, ‘यो प्रक्रियासँगै आठ सय ३७ भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम लिने बाटो पनि खुलेको छ ।’

शुक्रबार बिहानै नापी कार्यालयका अधिकृत नवलकिशोर रायको टोली खोकना फिल्ड निरीक्षणका लागि पुगेको थियो । रायले भने, ‘अब सरकारी तर्फबाट कानुनी, कागजी तथा प्राविधिक कुनै पनि समस्या हुने छैन ।’ उनले थपे, ‘खोकनाका वरिपरि २०२२ सालमा नापी भए पनि घनाबस्तीमा नापी गर्न छुटेकाले खोकनावासीले लालपुर्जा नपाएका हुन् । साथै उनीहरूले पनि त्यसबेला लालपुर्जाका लागि खासै पहल गरेका थिएनन् ।

निरीक्षण टोलीका अनुसार नापीका पुराना बिन्दु पत्ता लगाउन गाह्रो हुने हुनाले यस्ता ठाउँमा प्राविधिक रूपमा काम गर्न समस्या हुने गर्छ । नापी निश्चित गर्न मूल बेन्चमार्कलाई आधार बनाएर नेसनल ग्रिडमा जोड्नुपर्ने नियम हुनाले यसो गर्न गाह्रो भएको अधिकृत रायले बताए । यहाँ रहेका सिकाली, छ्यासीकोट र संैबु क्षेत्रमा त्यस्ता बिन्दु रहेका र तिनैलाई आधार बनाएर ‘विवरण कार्ड’ बनाई नक्सा तयार गरिने पनि उनले बताए ।

त्यस्ता पुराना कतिपय बिन्दु छोपिएका, भत्केका तथा मासिएका हुनाले कार्यमा चुनौती थपिएको उनले बताए । साथै बाक्लो बस्ती भएका कारण पनि अर्को समस्या थपिएको उनी बताउँछन् ।

२०२२ सालको तथ्यांकअनुसार खोकनामा नौ सय ४४ घरधुरी थिए । यद्यपि उक्त संख्या थप भएको पनि हुन सक्ने रायले बताए । ‘तर अब जे भए पनि तीन महिनाभित्र सम्पूर्ण काम पूरा हुन्छ ।’ रायले जानकारी दिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।