फर्कियो खुसी र नयाँ घर | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

फर्कियो खुसी र नयाँ घर

काठमाडौं, १३ माघ । चितवनको राप्ती नगरपालिका १३ स्थित मोराङकी ६० वर्षीया मैयामाया चेपाङ नयाँ घर पाएपछि दंग छिन्। सिंगो गाउँमा खुसी छाएको छ। गत साउनमा पहिरोमा श्रीमान् रणबहादुर र घर गुमाएकी उनको उठीबास लागेको थियो। आफैं पहिरोमा पुरिएकी उनलाई उद्धार गरेर गाउँलेले एक सातामा अस्पताल पुर्‍याए। उनी साहिँलो छोराको घरमा बस्दै आएकी थिइन्। नयाँ घरले पीडा कम गरेको छ।

‘यस्तो ठाउँमा कसले घर बनाइदेला भन्ने लागेको थियो,’ उनले खुसी हुँदै भनिन्, ‘विदेशमा बस्नेले पनि गाउँको दु:ख देख्दा रहेछन्, नयाँ घर पाउँदा सपना जस्तै लागेको छ।’ गाउँमा ४ घर छन्। उनको मात्र जस्ताले छाएको छ। सहयोग जुटाउने व्यक्ति गत सोमबार साँझ घर पुगेपछि स्वागत गर्न बाटोमै पुगिन्। उनले आफ्नो पीडा सुनाउँदै पाहुनालाई घरसम्म पुर्‍याइन्। घर बनाउन ब्रिटिस गोरखा एन्ड नेप्लिज कम्युनिटी क्याट्रिक बेलायतमार्फत सहयोग उपलब्ध भएको हो। निर्माणमा २ लाख ६० हजार खर्च भयो। उनले घर मात्र पाइनन्। करिब ३० हजार बराबरको ओढ्ने, ओछ्याउने र भाँडाकुँडासमेत पाइन्।

साहिँला छोराको घरमा ओढ्ने
ओछ्याउने नहुँदा आगोको न्यानोमा सुत्दै आएकी थिइन्। उक्त संस्थाका सदस्य एवं राहत संकलन अभियान संयोजक ज्ञानेन्द्र आलेले घर हस्तान्तरण गरे। ओढ्नेओछ्याउने सहयोग गरे। गाउँ पुग्न सदरमुकामबाट एक दिन लाग्छ। गत भदौ २ गते मैयामायाको अवस्थाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि बेलयातमा राहत संकलन अभियान चलाइएको थियो। ‘समाचारमा पढेभन्दा गाउँ अझै विकट लाग्यो,’ घर हस्तान्तरण गर्न पुगेका राहत संकलन अभियानका संयोजक आलेले भने, ‘अवस्था दर्दनाक रहेछ, यस्तो ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको छ।’

बाढीपीडितलाई घर
गत साउन अन्तिमको बाढीबाट पत्नी र छोरी गुमाउनुका साथै घर बगाएको पीडा भुल्न सकेका छैनन्, झापा सिमलबारी ३ का टेकबहादुर दर्नालले। उनको पीडामा थोरै भए पनि मल्हम लगाइदिएको छ, ब्रिटिस गोरखा नेप्लिज कम्युनिटीले। बाढीबाट पत्नी र ३ वर्षकी छोरीसहित घर गुमाएको खबर कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो। उक्त समाचार पढेर बेलायतका नेपालीहरूले विकको घर बनाइदिने योजना बुनेका थिए। ‘समाचार पढेपछि गह भरिएर आयो,’ कम्युनिटीका सदस्य आलेले भने, ‘विकको घर बनाउन सहयोग गर्ने योजना बन्यो।’

ब्रिटिस गोर्खा र नेपाली कम्युनिटीले उपलब्ध गराएको अढाई लाख रुपैयाँको लागतमा विकका लागि झापाको बुद्धशान्ति गाउँपालिका ३ किनारा बस्तीमा तीनकोठे पक्की घर निर्माण गरिएको छ। नवनिर्मित घर ब्रिटिस गोर्खा र नेपाली कम्युनिटीका सदस्य चूडा लिम्बूले बाढीपीडित विकलाई हस्तान्तरण गरेका छन्।

पाँच महिनादेखि छिमेकमा आश्रित विक नयाँ घर पाएपछि खुसीले गद्गद् भएका थिए। नयाँ घर पाएपछि विकले हर्ष व्यक्त गरे, ‘घर बनाइदिन सहयोग गर्ने बेलायतका सबै नेपालीहरूप्रति ऋणी छु।’ विकको घर निर्माणमा बुद्धशान्ति ३ का स्थानीय प्रेम ल्वागुन नि:स्वार्थ रूपमा खटेका थिए। ‘सबैको सहयोगबाट विकले नयाँ घर पाएका हुन्,’ घर निर्माणमा अहोरात्र खटेका ल्वागुनले भने, ‘सबैको साथ र सहयोगबाटै यो सम्भव भएको हो।’

नेपाली भाषा संस्कृतिको जगेर्ना र आपसी सद्भाव कायम गर्ने उद्देश्य राखेर स्थापित कम्युनिटीले बाढी पीडितलाई सहयोग गर्न आलेको संयोजकत्वमा समिति बनाएको थियो। सोही समितिको सक्रियतामा रकम जुटाइएको हो। कम्युनिटीका अध्यक्ष रामबहादुर मल्लका अनुसार यसअघि भूकम्पपीडितका लागि करिब ३० लाख नेपाली रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको थियो।

यसैबीच जर्मनीमा बसोबास गर्ने सुरज सुनार घतानीले समेत बाढीपीडित विकलाई नगद ३० हजार रुपैयाँ तथा कलाकाहरू विल्सनविक्रम राई र राजेश घतानीले विकलाई १०/१० हजार रुपैयाँ प्रदान गरेका छन्। सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले
समेत पीडित विकलाई १५ हजार प्रदान गरेका थिए।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार