दुर्गा संस्कृत विद्यापीठमा अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

दुर्गा संस्कृत विद्यापीठमा अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सम्पन्न

सत्य नारायण मानन्धर ||
फागुन २१ ||
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरमा श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा अस्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन १२ देखि सुरु भएको महायज्ञ फागुन २० गते सम्पन्न भएको हो ।
२७ औं परमानन्द गुरु स्मृतिको अवसरमा विद्यापीठको आर्थिक, भौतिक, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अक्षयकोष स्थापनार्थ महायज्ञ आयोजना गरिएको विद्यापीठले जनाएको छ ।
कक्षा ६ देखि ११ सम्म पढाइ हुँदै आएको विद्यालयबाट बटुकका साथै ज्योतिषहरु उत्पादन गर्न तथा विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार वृद्धिका लागि महायज्ञ गरिएको विद्यापीठका संस्थापक अध्यक्ष तथा महायज्ञ संकल्पकर्ता गणपति चन्द्रमणि पौडेलले बताउनु भयो । विद्यापीठ विं.सं. २०५१ सालमा स्थापना भएको हो । अहिलेसम्म निरन्तर चलिरहेको छ । महायज्ञमा प्रमुख वाचक धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतम रहनुभएको थियो ।
महायज्ञमा हजारौं भक्तजन आएको र ठूला सन्त महात्माले प्रवचन दिनुभएको पौडेलले बताउनु भयो । महायज्ञमा धेरैले दान गर्नुभएको छ । ३ सय जना यज्ञकर्ताहरुको समेत उपस्थिती रहेको थियो । पौडेलले सम्पूर्ण भक्तजनलाई धन्यवाद दिदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको लागि आग्रह गर्नु भएको छ ।
समापन कार्यक्रममा श्री १००८ स्वामी विवेकानन्द सरस्वति जी महाराज ज्यूले संस्कृतिको जर्गेनाका लागि यस्ता महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले धर्म संस्कृति बिर्सन नहुने भन्दै धर्म संस्कृति बिर्सदा समाजमा अराजकता पैदा हुने भएकाले धर्म संस्कृतिको संरक्षणमा जृट्नुपर्ने बताउनु भयो ।
१ सय बढी बटुकहरुको निःशुल्क भरणपोषणका साथै आवासीय सुविधा दिदै आएको विद्यालयको स्तरोन्नतिको साथै आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि र अक्षयकोष स्थापनाका लागि आयोजना गरिएको महायज्ञ फागुन २० गते परमानन्द गुरुस्मृती भण्डारा गराउँदै यज्ञको पूर्णाहुती गरि समापन गरिएको हो ।
समापन कार्यक्रममा महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । महायज्ञका कर्ता बालकृष्ण भुसालले मंगल कलश उपहार प्रदान गर्नु भएको थियो । कार्यक्रमा विद्यापीठका पाँच जना पूर्व विद्यार्थीलाई व्यासको पदवीबाट विभूषित गर्दै मेडल र विभूषण पत्र द्वारा प्रमुखअतिथि श्री १००८ स्वामी शान्ता नन्द सरस्वती जी महाराज ज्यूबाट सम्मान गरिएको थियो ।

Leave a Reply