राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

rastriya sava

काठमाडौं, १३ माघ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगको बैठकले निर्वाचनका लागि सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजलगायतका लागि आचारसंहिता जारी गरेको हो ।

आयोगले निर्वाचनमा सरकार, राजनीतिक दल एवं व्यक्तिबाट हुन सक्ने स्रोतसाधनको दुरुपयोग रोक्न र अनुशासन कायम गर्न निर्वाचन आचारसंहिता जारी गरेको जनाएको छ । निर्वाचन आचारसंहिता जारी भएपछि सरकारले कर्मचारी सरुवा–बढुवा, नियुक्ति तथा नयाँ योजना तर्जुमा एवं निर्वाचनलाई प्रभावित पार्ने खालका निर्णयहरु गर्न पाउनेछैन । यसैगरी सरकारले कुनै दललाई पक्षपोषण हुनेगरी सरकारी स्रोतसाधन र सम्पत्तिको प्रयोग गर्न पाउनेछैन । सार्वजनिक पद धारण गरेका व्यक्ति एवं कर्मचारीले कुनै दललाई पक्षपोषण हुनेगरी प्रचारप्रसार र सहायता गर्न पाउनेछैनन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले राष्ट्रियसभा निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता जारी भएको बताए । ‘राष्ट्रियसभा निर्वाचनका लागि शुक्रबारदेखि सरकार, राजनीतिक दल, उम्मेदवार, नागरिक समाजलगायत सबै सरोकारवालाका लागि निर्वाचन आचारसंहिता जारी भएको छ,’ दाहालले नागरिकसँग भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेज गर्नेसम्मको कारबाही हुन सक्छ ।’ निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खोरज गर्नसक्नेसम्मको कारबाहीको व्यवस्था छ ।

शुक्रवारदेखि निर्वाचन आचारसंहिता जारी हुने भएपछि मन्त्रिपरिषद्ले बुधबार र बिहीबार थुप्रै विवादास्पद निर्णय गरेको थियो । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई मतदान र मतगणनाका विषयमा प्रशिक्षण दिन केही दिनपहिले आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी गराएका थिए ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवाबढुवा र निर्वाचन प्रभावित हुने काम गर्न नपाउने भए पनि सरकारले हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका क्रममा भने निर्वाचनलाई प्रभावित पार्नेगरी ठूला आयोजना सम्बन्धी निर्णय र महतवपूर्ण निकायमा सरुवाबढुवा गरेको थियो ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);