महाशिवरात्रिलाई व्यवस्थित गर्न पशुपतिमा तयारी तीव्र | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

महाशिवरात्रिलाई व्यवस्थित गर्न पशुपतिमा तयारी तीव्र

काठमाडौं,२१ फागुन । यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

पशुपतिनाथको दर्शनका लागि यसपटक नौ वटा मार्गको व्यवस्था गरिएको बताईएको छ । उत्तरपट्टी तीन, पूर्वपट्टी दुई, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई मार्गको व्यवस्था गरिएको समेत जानकारी कोषले दिएको छ । यसैगरी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्रीवितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान कोषले गरेको छ । दर्शनार्थीलाई सहजरुपमा र छिटो भगवानको दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको कोषको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);