काठमाडौं,२ फागुन । आज श्री पंचमी अर्थात सरस्वती पुजा, बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा लिने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ ।
हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन । आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुची लगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।
देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि भीड लागेको छ । तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने मान्यताका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ । आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ ।