आरती साहको दाजुले भने–बालेन साहबाट पनि पीडित भइयो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आरती साहको दाजुले भने–बालेन साहबाट पनि पीडित भइयो

काठमाडौं,२६ माघ । काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा बिरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका बिरुद्ध आन्दोलित भएका छन् ।

शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमवार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीवार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ । उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट पनि पीडित भएको बताउनु भयो । उहाँले मेयर साहले गरिबहरुमाथि दमन र अत्याचार गरेको बताउनु भयो । उहाँले शान्ति बाटिका मेयर साह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको बताउनु भयो । उहाँले मेयर साहलाई हिटलर नबन्न आग्रह समेत गर्नुभयो ।

त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमवार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्त शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताउनु भयो । उहाँले महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पार्नुभयो । पीडितहरु महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उहाँले बताउनु भयो ।

त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताउनु भयो । उहाँले आफूमाथि राज्यले आतंक मच्चाएको पनि बताउनु भयो । उहाँले प्रमाण हुँदाहुँदै पनि बलात्कारि न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको बताउनु भयो ।

उहाँले न्यायालय कहिले स्वतन्त्र र शुद्धिकरण हुन्छ ? भनेर प्रश्न समेत गर्नुभयो । पीडितहरुले आफूहरु शान्तिबाटिकामा बसेर बिरोध प्रदर्शन गरिरहने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);