काठमाडौं,२३ माघ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको छ ।
सोमबार जिल्ला अदालत, काठमाडौंले थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न पनि अदालतले आदेश गरेको छ ।
प्रहरीले १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराउँदा दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको थियो । यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि थप २ हिरासतमा राख्न म्याद लिएको हो । यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।
सीआईबीले तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको छ । प्रहरीका अनुसार, चौधरी समूहले ०४३ सालयता श्रृंखलाबद्ध रुपमा निर्णयहरु गरेर बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हत्याएको अनुसन्धानबाट देखिएको छ ।