काठमाडौं, २० माघ ||
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको उद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिएको बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै उहाँले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति भरोसा बढेको दाबी गर्नुभयो । मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको भन्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा फर्किएको जिकिर गर्नुभयो ।




