बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद् | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्

काठमाडौं, १६ माघ ||
संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनुभयो । उहाँले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताउनु भयो । उहाँले बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राख्नुभयो । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै उहाँले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पार्नुभयो । यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उहाँले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताउनु भयो । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताउनु भयो । अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताउनु भयो । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उहाँले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताउनु भयो ।
बैठकमा लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताउनु भयो । उहाँले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताउनु भयो । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उहाँको भनाई छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

Leave a Reply