काठमाडौं,१४ माघ । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानी मुद्दामा क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिनुपर्ने फैसला सुनाएको छ ।
सन् २०१९ मा राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको आरोप लगाउँदै क्यारोलले दायर गरेको मुद्दामा अदालतले फैसला सुनाउँदै, क्यारोललाई भावनात्मक रूपमा चोट पु¥याएको र उहाँको प्रतिष्ठामा चोट पु¥याएकोमा क्षतिपूर्ति र जरिबाना समेत गरेर आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख डलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर गरि कुल आठ करोड ३३ लाख अमेरिकी डलर जरिवाना तोकेको हो । यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएको भन्दै क्यारोलले मानहानिको लागि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हाल्नु भएको थियो ।
फैसलालगत्तै ट्रम्पले विज्ञप्ति जारी गर्दै फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताउनु भएको छ । तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले निर्णय सुनाएको हो । यस मुद्दामा सम्बन्धमा शुरूमा आक्रामक धारणा सार्वजनिक गर्नु भएका ट्रम्प अन्तिम बहसको लागि अदालती सुनुवाइमा सहभागी हुनु भएको थियो । तर क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उहाँ अदालतभन्दा बाहिर हुनुहुन्थ्यो । फैसलापछि प्रतिक्रिया दिदै क्यारोलले यो हरेक महिलाका लागि ठूलो जित र महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार भएको टिप्पणी गर्नु भयो ।