१४ किलो सुन तस्करी गर्ने समूहले १३८ किलो सुन ल्याइसकेको खुलासा, १० जनाविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

१४ किलो सुन तस्करी गर्ने समूहले १३८ किलो सुन ल्याइसकेको खुलासा, १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,२० पुस । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेको अनुसन्धानका क्रममा हालसम्म सोही समूहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलको टोलीले गरेको अनुसन्धानमा सुन तस्करीको जालो पत्ता लागेको हो ।

गत मङ्सिर २१ गते राती युएईको दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेले ज्याकेटमा खल्ती बनाई तस्करी गरी ल्याएको १४ किलो सुन बरामद भएपछि घटनाको अनुसन्धान गर्दै जाँदा चन्द्र घलेलाई सुन ल्याउन लगाउने गिरोहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलेको हो चन्द्रकै सूचनाका आधारमा प्रहरी र भन्सारका अनुसन्धान अधिकारीले छानबिन गर्दा सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका १० जनालाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अनुसन्धानका क्रममा एकै व्यक्तिले एक पटकमा १४ किलोका दरले ७ पटकसम्म सुन तस्करी गरी ल्याउन सफल भएको खुलेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी कृष्ण कुमार श्रेष्ठले आफूले दुबईबाट ७ पटकसम्म १४ किलोका दरले सुन ल्याएको बयान दिएका छन् । आफू म्यानपावरको एजेन्ट रहेको र नेपालबाट मानिसहरू लिएर दुबई जाने गरेको तथा फर्कने क्रममा सुन लिएर आउने गरेको श्रेष्ठको बयानमा उल्लेख रहेको छ । काठमाडौँ जिल्ला अदालतमा दायर भएको भन्सार चोरी पैठारी मुद्दामा प्रतिवादीहरूबाट १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बराबरको बिगोसमेत मागदाबी लिइएको छ ।

पक्राउ परेका प्रतिवादी चन्द्र घलेको सूचनाका आधारमा मीन बहादुर घले पक्राउ परेपछि मीन बहादुरको सूचनाका आधारमा कृष्ण कुमार श्रेष्ठ, शेर बहादुर बस्नेत, रमेश देउला, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ, बिना गुरुङ र डिबी भन्ने दन बहादुर गुरुङविरुद्ध मुद्दा दायर भएको हो । अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जनालाई मुद्दा चलाउने र पक्राउ परेका प्रतिवादीहरूमध्ये सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङको तस्करीमा प्रत्यक्ष संलग्नता नपाइएको कारण मुद्दा नचलाउने निर्णय भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);