प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा एपिएफ,दोस्रो क्वालिफायरमा कोशी र सुदूरपश्चिम भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा एपिएफ,दोस्रो क्वालिफायरमा कोशी र सुदूरपश्चिम भिड्ने

काठमाडौं,१६ पुस । एपिएफले आईतवार कोशी प्रदेशमाथि सहज जितसहित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिम प्रदेशले पनि इलिमिनेटरमा पार गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा आईतवार एपिएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दा सुदूरपश्चिमले पनि वागमती प्रदेशलाई ९ विकेटले हरायो । पराजित कोशीले फाइनल यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमबिरुद्ध सोमबार प्रतिष्पर्धा गर्नेछ । यी दुईबीच लिग चरणको खेलमा कोशीले जित निकालेको थियो । यस पटक पनि सोही लक्ष्यका साथ कोशीले सुदूरपश्चिमविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । त्यसअघि आइतबारको पहिलो खेलमा एपिएफले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ८७ रन मात्र जोड्यो ।

पहिलो ओभरमै ओपनर काजल श्रेष्ठलाई ४ रनमा गुमाएको कोशीले सुस्त ब्याटिङ ग¥यो । कोशीकी कप्तान रुविना क्षेत्रीले २६ बलमा २४ रन जोड्दा अप्सरी बेगमले ४८ बलमा ३१ रन जोडिन् । लकिता राजवंशीले १४ रन बनाइन् । एपिएफका सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले समान एक विकेटसँगै कसिलो बलिङ गरिन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो । एपिएफकी इन्दु बर्माले ५० बलमा तीन चौका र एक छक्कासहित ५६ रनमा नटआउट रहिन् ।

कप्तान सीताले ४५ रन जोड्दा रोमा थापा १८ रनमा नटआउट रहिन् । एपिएफको तेस्रो विकेटका लागि इन्दु र रोमाले अविजित ५८ रनको साझेदारी गरे । कोशीको बलिङमा रुविनाले एक विकेट लिइन् । लिगमा शिर्ष दुईमा रहँदै एपिएफ र कोशीले पहिलो क्वालिफायरमा प्रतिष्पर्धा गरेका हुन् । लिगमा पनि कोशीलाई हराएको एपिएफले यस पटक पनि यो लय जारी राख्यो । दोस्रो खेलमा बागमतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । विन्दु रावलले ५४ रन र सम्झना खड्काले २१ रनको अविजित इनिङ खेल्दै सुदूरपश्चिमलाई सहज जित दिलाए ।

यो जोडीले दोस्रो विकेटका लागि अविजित ५७ रनको साझेदारी गरे । ४९ बलमा विन्दुले सात चौका हिर्काइन् । रुवी पोदारले १८ रनको योगदान दिइन् । वागमतीको बलिङमा मनिषा उपाध्यायले एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको वागमती १९ ओभरमा ९९ रनमा अलआउट भयो । वागमतीकी कञ्चन श्रेष्ठले ३६, सोनी पाख्रिनले १४ तथा हेलिशा गुरुङ र खुशी डंगोलले समान १० रन बनाए । सुदूरपश्चिमको बलिङमा करिस्मा थापाले तीन तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई विकेट लिए । लिग चरणबाट सुदूरपश्चिम तेस्रो र वागमती चौथो स्थानमा रहेर प्ले अफमा स्थान बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);