बिमल जैरु ||
डडेल्धुरा ९ पुस ||
डडेल्धुरा जिल्लाको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिकाको मुख्य पर्यटकीय स्थल आलितालमा जिल्लामा रहेको श्री रणबम गण दह ब्यारेकको आयोजनामा ताल सरसफाइ गरिएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित आलितालमा श्री रणबम गण दह ब्यारेकको आयोजनामा स्थानीय सरकार, स्थानीयबासी, नेपाल प्रहरी विद्यार्थीहरूले तालको सरसफाइ गरेका हुन । हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीनदिने ताल सरसफाइ अभियान सुरु गरिएको हो । आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल भएपनि उचित संक्षण र प्रचारप्रसार नहुँदा ओझेमा परेको छ । ७÷८ वर्षअघि र अहिलेको ताल धेरै परिवर्तन भएको छ । ताल साँधुरिँदै गएको छ, बाढी पहिरो भूक्षयलगायतबाट ताललाई जोगाउनुको सथै संरक्षणसँगै तालको प्रचारप्रसारमा पनि विषेश ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।
नेपाली सेनाको तालतलैया सरसफाइ योजना अन्तर्गत जिल्लामा रहेका ऐतिहासिक पर्यटकीय धार्मिक स्थालहरुको स्थानीय सरकार स्थानीयबासी लागायत जिल्लामा रहेका सम्पुर्ण सरोकारवाला निकायहरुसंग समन्वय गरि सरसफाई अभियान सञ्चालन गर्ने गरिएको छ । बिशेष गरि यहाँका स्थानीयहरूलाई तालप्रति अपनत्व बोध होस् भन्ने मुख्य उद्देश्यले सरसरफाइ कार्यक्रम गरेको श्री रणबम गण दह ब्यारेकका प्रमुख सेनानी प्रबिन थापाले बताउनु भएको छ ।
समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्नसके पर्यटकहरूको संख्या बढाउन सकिन्छ । यो ताल मात्रै नभई ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थल भएकोले संरक्षण र प्रचारप्रसार लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने परशुराम नगरपालिकाका नगर प्रमुखको भनाई छ ।
आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो । एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर ताललाई चुरे डाँडाले घेरेको छ । वरिपरी सुन्दर हरियाली वनले ढाकेको ताल संरक्षण र प्रचारप्रसार नहुदा ओझेलमा परेको छ । आलितालको संरक्षणका लागि सुदूरपश्चिम उद्योग पर्यटन, वन तथा वातावरणले २० लाख बजेट विनियोजन गरेको छ । संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेर तालको संरक्षण गर्दै आलितालमा केबलकार सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको छ । यस्ता ऐतिहासिक पर्यटकीय धार्मिक स्थालहरुको संरक्षण गर्दै प्रचारप्रसार मात्र गर्ने हो भने पनि व्यापार व्यावसाय फस्टाउने स्थानीयको आशा छ ।