काठमाडौं, ८ पुस । नेपाली कांग्रेसले आज पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको अवसरमा विमर्श सभाको आयोजना गर्न लागेको छ । कांग्रेसले सन्त नेताको सम्झनामा ‘आदर्शको राजनीति,विधिको शासन र किसानजीको योगदान’विषयक विमर्श सभा गर्न लागेको हो ।
सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन् । दिउँसो सवा १ बजे आयोजना गरिएको कार्यक्रममा संविधानसभा सदस्य नीलाम्बर आचार्य र विश्लेषक सिके लाल बिच अन्तरक्रिया हुनेछ । सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन् ।
विस १९८१ पुस ८ गते जन्मिएका सन्त नेता भट्टराईको ०६७ फागुन २० गते निधन भएको थियो । कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो सभामुख तथा बहुदलिय व्यवस्थाको पुनस्थापना पछिका पहिलो प्रधानमन्त्री समेत हुन् ।