काठमाडौं, ८ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विशेष सुरक्षा रणनीति बनाइने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले माग २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुरक्षा रणनीति तथा कार्यनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।
प्रदेशको राजधानी माग गर्दै भइरहेका आन्दोलनलाई राष्ट्रिय सभा निर्वाचनको प्रमुख चुनौतिका रुपमा व्याख्या गर्दै आएको आयोगले सुरक्षा निकायलाई चनाखो हुन सुझाव पनि दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रिय सभा निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजना प्रस्तुत गरे ।
उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन थप रणनीति बनाएर कार्यान्वयन गर्न सकिने बताए । बैठकमा निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्नु पर्नेमा जोड दिए ।
बैठकमा निर्वाचन आयोगका पदाधिकारीसहित गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाली सेनाका रथी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सहभागी थिए ।





