पछिल्लो ९ महिनादेखि नेपाली क्रिकेटको ऐतिहासिक छलाङ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

पछिल्लो ९ महिनादेखि नेपाली क्रिकेटको ऐतिहासिक छलाङ

काठमाडौं, २१ मंसिर । नेपाली क्रिकेटले पछिल्लो ९ महिनादेखि ऐतिहासिक छलाङ मारिरहेको छ । क्रिकेटका लागि इतिहासकै उत्कृष्ट यो अवधिमा नेपालले एकदिवसीय मान्यता निरन्तरता, एसिया कपमा सहभागिता र टि २० विश्वकप २०२४ का लागि छनोट भएको छ । यो समय नेपाली क्रिकेटका लागि स्वर्णिम क्षण मान्नु पर्छ । तर क्रिकेटको यो उचाइलाइै कायम राख्दै थप विकास गर्नु पर्ने प्राय सबै पक्षहरुको अवस्था दयनीय छ ।

गत फागुन यता नेपाल आइसिसी विश्वकप लिग–२ का अन्तिम १२ खेल, एसिसी प्रिमियर कपको उपाधि, एकदिवसीय विश्वकप छनोट जिम्बावे, एसिया कप, १९ औं एसियाली खेलकुद, एसिसी इमर्जिङ टिम्स एसिया कप, आइसिसी टि२० विश्वकप छनोटमै व्यस्त रह्यो । एकपछि अर्को ठूलो सफलताले नेपाली क्रिकेटको लोकप्रियता र स्तर बढाएको छ । तर घरेलु क्रिकेटको अवस्था भने ठ्याक्कै उल्टो छ । प्रशिक्षक मोन्टी देशाइको आगमनयता नेपालले पाएको सफलताकाबीच घरेलु क्रिकेट प्रतियोगिता लगभग सुन्य अवस्थामा छ । पछिल्लो फागुन यता नेपालको सिनियर टोलीमा १५ देखि २० खेलाडी मात्रै सिमित छन् । नेपालले २० खेलाडी भित्रबाट हरेक प्रतियोगितामा एक वा दुई मात्रै परिवर्तन गर्दै आएको छ ।

नयाँ खेलाडी उत्पादनको प्रमुख साधन घरेलु क्रिकेट शुन्य नै छ । बाध्यताले २० खेलाडीबाटै टिम बनाउनु परेको छ । क्यानको तलब, भत्ता, म्याच फि र सरकारको पुरस्कारले फागुन यता खेलाडीहरुको कमाइ पनि रामै्र छ । तर घरेलु क्रिकेट खेल्ने खेलाडीको अवस्था दयनीय छ । घरेलु खेल नभएपछि आम्दानीको अवस्था नै शून्य छ । यसबाट नेपाली क्रिकेट टोलीबाट खेलिसकेका खेलाडीका लागि विदेश नै आकर्षक हुन थालेको छ । निकै आशा गरिएका नन्दन यादव,राष्ट्रिय टोलीका जर्सी लगाएका किशोर महतो र सुशन भारीसँगै विक्रम सोब अष्ट्रेलिया पुगिसकेका छन् । पछिल्लो समय नेपाली खेलाडी भारतमा आफ्नो व्यक्तिगत खर्चमै गएर क्रिकेट सिक्न थालेका छन् । तर सिकेको कला देखाउने ठाउँ नै पाउन सकेका छैनन् । त्यसको मुख्य कारण घरेलु क्रिकेट नहुनु नै हो । घरेलु क्रिकेट नै नभएको एक वर्षभन्दा बढी भएको छ । नेपालको प्रमुख घरेलु प्रतियोगिता प्रधानमन्त्री कप पछिल्लो पटक २०२२ नोभेम्बरमा भएको थियो ।

अन्तर्राष्ट्रिय सफलता पाएपनि घरेलु प्रतिस्पर्धा शून्य हुँदा खेलाडी पलायन क्रिकेटको भविष्यमाथि चुनौती हो । सिनियर र घरेलु खेल्ने खेलाडीबीच खेलको अनुभवमा आकाश पातलको दुरी छ । सिनियर टोलीले भारत, पाकिस्तान, वेस्टइन्डिजका विश्वस्तरीय खेलाडीसँग खेल्ने स्तरमा पुग्दा घरेलु क्रिकेट खेलाडी बर्षै भर िचुपचाप बस्न बाध्य छन् । उता राष्ट्रिय खेलाडी २०/२२ जनाले फागुन यता अन्तर्राष्ट्रिय क्रिकेटमा ३० भन्दा बढी खेलेका छन । यसले आगामी दिनमा नेपाली क्रिकेटको स्तर सुधारमा ठूलै चुनौति आइपर्ने वास्तविकता क्रिकेट नेतृत्वले पनि नबुझेको भने होइन । नेपाली क्रिकेटमा प्रतिभाको कुनै कमी छैन ।

केपी ओली कपमा मधेश प्रदेशले सिनियर टोलीको बाहुल्यता भएको विभागीय टोलीलाई पछि पार्दै उपाधि जित्यो । अघिल्लो महिना दीपेन्द्रसिंह ऐरी टि२० विश्वकपको समयमा खुट्टामा चोट लाग्दा घाइते भए । पेन किलरको सेवन गर्दै आफ्नो करिअरनै जोखिममा राखेर दीपेन्द्रले युएईविरुद्ध सेमिफाइनल खेल्न बाध्य भए । सहि विकल्प अभाव र खेडिी उत्पदानमा भइरहेको कमजारीको यो राम्रो उदाहरण हो । घरेलु क्रिकेट अभावमा सिनियर टोली छनोट गर्न कप्तान, प्रशिक्षक र छनोटकर्तालाई पनि कठिन पर्दै आएको छ । यसैकारण अब कुनै पनि बहानामा घरेलु क्रिकेट रोकिनु हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);