२७ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध,अटेर गरे १ लाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

२७ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध,अटेर गरे १ लाख जरिवाना

काठमाडौं, १४ मंसिर। काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ ।

कामपाले निर्देशन पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । त्यसका लागि २७ गतेदेखि नै कामपाको सबै सार्वजनिक क्षेत्रमा कामपा प्रहरी परिचालन गर्ने भएको छ ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो । सो व्यवस्थाले ऐनको परिच्छेद २ को दफा ३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत सार्वजनिक स्थल तय गरेको छ ।

ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।

ऐनको दफा ५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ । ‘ऐनअनुसार अनुगमनसँगै कारबाही गर्ने गरी आवश्यक तयारी थालेको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । २७ गतेबाट अनुगमन गर्न सबै प्रहरी परिचालन गर्न लागेको उहाँको भनाइ छ ।

यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवान गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो । राजधानीमा खुलेआम बिक्रीवितरण बढ्न थालेपछि कामपाले कडाइ गर्न थालेको हो ।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले लामो समयसम्म गरेको योजना र अनुसन्धानपछि सेवन र बिक्री वितरणमा कडाइ गर्न लागेको जानकारी दिनुभयो । कामपाले जारी गरेको सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौं, २९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पु¥याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौं’ –स्वास्थ्य विभाग प्रमुख पौडेलले भन्नुभयो ।

‘कामपाले जारी गरेको जनस्वास्थ्य ऐन २०८० दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको विभागीय प्रमुख पौडेलले बताउनुभयो ।

‘शुरूमा अनुगमन गरेर सचेत गराउनेछौं, नमाने तत्काल कारबाही गर्नेछौं, बिक्रीस्थल बन्द गराउनेछौं’ –कामपा प्रहरी प्रमुख पाण्डेले चेतावनी दिनुभयो । सहरको स्वच्छता, स्वस्थता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण गर्न लागेको हो । कामपाले ऐन कार्यान्वयन गर्नुअघि विभिन्न स्थानीय तहले धूम्रपान र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न गरेका प्रयासबारेमा अध्ययन गरेको थियो ।प्रमुख पौडेलले २७ गतेबाट राजधानीमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्रीलाई पूर्ण प्रतिबन्ध गर्ने र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने बताउनुभयो ।

निषेधित क्षेत्रहरू

शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय    (समाचारपत्रबाट)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);