काठमाडौं, १० मंसिर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस भएको छ । यसअघिको सरकारले दुईपटक अध्यादेशमार्फत बजेट ल्याएकोमा शनिबार प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस भएको हो ।
सभाको शनिबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले आर्थिक र विनियोजनसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्नुभएको हो । उउहाँले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट सभामा पेस गर्नु भएको छ । जसमध्ये चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख र पुँजीगततर्फ २० अर्ब ३६ करोड १५ लाख छ । कार्कीले सभामा पेस गरेको विधेयकमार्फत यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गर्नु भएको छ ।
सबै मन्त्रालयका कार्यक्रम घटीमा २५ लाखको बजेट व्यवस्था गरिएको छ । सरकारले दुग्ध किसानलाई लक्षित गर्दै धुलो दूध र घिऊमा अनुदान, नवप्रवर्तन कार्यक्रम, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन, हात्तीमैत्री जंगल करिडोर, इटहरीमा जलन अस्पताल, काकरभिट्टा र जोगबनी नाकामा विदेशी पर्यटक कक्ष, ‘जसको जंगल उसको मंगल’ भन्ने नारासहित जंगली जनावरका लागि संरक्षण अभियान, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान योजना आदि प्रतिस्थापन विधेयकमा घोषणा गरिएको छ । विधेयक पेस गर्ने क्रममा सहमति र साझा सरकार भएको बताउँदै मुख्यमन्त्री कार्कीले बजेट धेरै नचलाएको र अघिल्लो सरकारले ल्याएका कार्यक्रमकै निरन्तरता भएको उल्लेख गर्नु भयो ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले गत जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याउनु भएको थियो । बजेट प्रतिस्थापन विधेयकलाई नेकपा एमालेले समर्थन गरेको छ । एमाले कोसी संसदीय दलका नेता हिक्मत कार्कीले बजेट विधेयकमा नीतिगत समर्थन रहेको बताउनु भएको छ । एमालेले अध्ययनपछि विधेयक पास गर्ने समयमा स्पष्ट रुपमा मत राख्ने बताएको छ ।