काठमाडौं,४ मंसिर । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको वार्ता समितिले पार्टी एकता समिति नै गठन गर्न सुझाव दिएको छ । आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ ।
पार्टी एकता संयोजन समितिले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयमा पार्टी एकता संयोजन समितिले गरेको सहमति अनुसार हुने पनि वार्ता समितिले जनाएको छ । दुई पार्टीबीच एकता वार्ताका लागि माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए ।
आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा भने नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यद्यपि नेकपा शब्द कायमै राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाउनुभएको छ ।
यसै विषया पार्टीभित्र विवाद भएपछि उहाँले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।