कोप–२८ मा जलवायु परिवर्तनबाट प्रभावित स्थानीयको सहभागिता हुनेछः मन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोप–२८ मा जलवायु परिवर्तनबाट प्रभावित स्थानीयको सहभागिता हुनेछः मन्त्री महतो

काठमाडौं, २४ कात्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले दुबईमा हुने जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा नेपालका जलवायु परिवर्तनबाट प्रभावितहरुले सहभागिता जनाउनसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित भएका स्थानीयहरुलाई सम्मेलनमा सहभागी हुन इच्छुक भए आफ्नो नाम दर्ता गराउन हरेक प्रदेशमा चिठी पठाइसकेको बताउनु भयो । उहाँले कोप–२८ मा नेपालले आफूलाई परेका समस्या प्रमाणित गरेर देखाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कोपमा मात्रै गुहारेर नेपालमा जलवायु परिवर्तनबाट परेका असरहरुको समाधान नहुने भन्दै आन्तरिक रुपमा जलवायु परिवर्तनका असर न्युनिकरणका लागि गरेका पहलकदमी र तयारीका बारेमा पनि विशेष जोड दिनुपर्ने बताउनु भयो । उहाँले कोप २८ मा नेपालको तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउने उल्लेख गर्दै नेपालले सम्मेलनमा आफ्ना समस्याहरु स्पष्ट रुपमा राख्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर नेपाललाई मात्रै नभएर विश्वभर नै परेको छ । विशेष गरेर हामी जस्ता देशहरु यसको भिक्टिम भइरहेका छौँ । यही विगत केही दिनमा हामीले धेरै किसिमका भूकम्प भनौँ, विपद्को सामना गरिरहेका छौँ । यस्ता घटनाहरु नेपालमा छिटो छिटो दोहोरिरहेको छ । हामी कोपको कुरा गरिरहेका छौँ । यसमा हामी धेरै गम्भीर भएका छौँ । हाम्रा आवाज उठाउनुपर्ने छ । तर हामीले जलवायु परिवर्तनले हामी जस्तो देशलाई जुन किसिमले असर गरिरहेको छ, त्यसमा हामी बलियो हिसावबाट तयारी हुने अवस्थामा हामी पुग्नुपर्छ । कोपमा मात्रै गुहार गरेर हाम्रो समस्या समाधान हुनेवाला छैन । हामी इन्टरनल्ली कति तयारी गरेका छाँै, यसको न्युनिकरणमा हामी कति लागेका छौँ, त्यसमा हामी सचेत रहनुपर्छ, त्यो नसेके यो भन्दा पनि बढी क्षति हुनेछ । ५ गते के लिएर जाने भन्ने सन्देश हुनेछ । त्यहाँ गइसकेपछि हाम्रो उद्देश्य भिजन र डकुमेण्डहरु राख्नेछौँ । त्यसमा क्लियर रुपमा राख्न नसके फेरि जाने र फर्किएर आउने मात्रै हुनेछ । प्रभावित स्थानीयहरुको सहभागीता हुनपर्छ भन्ने कुरा थियो । र हामीले प्रत्येक प्रदेशमा लिखित रुपमा चिठी पठाएका छौँ । तपाईहरुको सल्लाह सुझाव कोपमा दिन र जान चाहनेले रजिष्ट्रेशन गराउनु भनिसकेका छौँ ।’

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कोप सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय जगतलाई सजिलो हुने किसिमले भन्दा पनि नेपाललाई परेका समस्या केन्द्रित आवाज उठाउने बताउनु भयो । सम्मेलनमा नेपाललाई परेका समस्या समाधानका लागि आवश्यक मुद्दाहरुमा केन्द्रित भएर सरकारले आफ्ना एजेण्ड प्रश्तुत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कोपमा व्यक्त गर्नेकुरा अरुको लाइनमा जाने र अरुलाई सजिलो के हुने वा अन्तर्राष्ट्रिय जगतले के सोचेको छ र कसरी सोचेको छ भन्ने लाइनमा होइन । हामीलाई परेका समस्या र परेका समस्या समाधानका लागि हाम्रो आवाज के हो ? त्यो कुनैपनि नहिच्किचाइ राख्नुपर्छ । त्यो लाइनमा हामी जानेछौँ । क्लाइमेट फाइनान्सको बहसमा हाम्रो मेकानिजमले एड्जस्ट गर्नसक्ने र संयन्त्र प्रभावकारी हुने किसिमले लविङ गर्नुपर्नेछ ।’

सचिव खरालले क्लाइमेट फाइनान्सको बहसमा नेपालले आफ्नो मेकानिजमले एड्जस्ट गर्नसक्ने र संयन्त्र प्रभावकारी हुने किसिमले लविङ गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);