गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा इजरायली हमला,५० हमास लडाकु मारिएको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा इजरायली हमला,५० हमास लडाकु मारिएको दाबी

काठमाडौं, १५ कात्तिक । इजरायल र हमासबीचको युद्धको आज २६औं दिन हो । यसैबीच, मङ्गलबार राति इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरलाई निशाना बनाएको छ। इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ ।

हमासको नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ। इजरायली सेनाले यस अवधिमा आफ्ना ११ सैनिकले पनि ज्यान गुमाएको बताएको छ । इजिप्टले घाइते प्यालेस्टाइनीहरूलाई राफा सीमा पार गर्न अनुमति दिनेछ, ताकि उनीहरूले उचित उपचार पाउन सकून्।

गाजाको जबलिया क्षेत्रमा रहेको शरणार्थी शिविर करिब १.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । आक्रमण हुनुअघि यहाँ करिब १ लाख १६ हजार मानिसले शरण लिएका थिए । अर्कोतर्फ इजरायली आक्रमणका कारण गाजामा सञ्चार र इन्टरनेट सेवा फेरि ठप्प भएको छ । जसका कारण गाजाका २० लाखभन्दा बढी मानिस संसारबाट विच्छेद भएका छन् ।

मंगलबार यमनका हुथी विद्रोहीले पनि इजरायलमा मिसाइल प्रहार गरेका थिए । इजरायली सेनाले एउटा मिसाइल र केही ड्रोन हावामा खसालेको दाबी गरेको छ । ’टाइम्स अफ इजरायल’का अनुसार हुथी प्रवक्ता याह्याले इजरायली सहर इलातमा ड्रोन, ब्यालिस्टिक र क्रुज मिसाइलहरू प्रहार गरिएको स्वीकार गरेका छन्।

हुथी प्रवक्ताले थप भने– अरब देशहरू कमजोर भएकाले र इजरायललाई गोप्य रूपमा सहयोग गरिरहेकाले गाजाका जनताको समर्थनमा यी आक्रमणहरू गरिएको हो। यमनका जनता हामीले इजरायलमाथि आक्रमण गरोस् भन्ने चाहन्छन्। यस्ता हमला भविष्यमा पनि हुने छन् । हामीलाई थाहा छ कि इजरायलसँग बलियो वायु रक्षा प्रणाली छ र यसले आक्रमणलाई विफल बनाएको छ, तर यी आक्रमणहरू पनि चाँडै सफल हुनेछन्।

हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए । अहिले उनीहरूले देशको ठूलो हिस्सा नियन्त्रणमा लिएका छन्। हुथीले केही दिन अघि आफू हमासको साथमा रहेको र यसलाई हर प्रकारले सहयोग गर्ने बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);