काठमाडौं, २९ असोज ||
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिनुभएको छ । सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले कारोबार भएको एक महिना भित्र किसानहरुलाई दुधको भुक्तानी गर्न दुधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताउनुभएको हो । उहाँले दुधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताउनु भयो । दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो । मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहो¥याउनु भयो ।




