सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ ।
आइतबार दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो ।
बैठकले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउनसमेत सम्बन्धित मन्त्रालय र सचिवहरुलाई समेत निर्देशन दिएको छ ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, कृषिमन्त्री बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू सहभागी थिए ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताउनुभएको छ । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको दाबी गर्नुभएको हो ।
आवश्यकता अनुसार मन्त्री फेरबदल गर्न सकिने भए पनि अहिले त्यस्तो छलफल नभएको मन्त्री शर्माको भनाइ छ ।
सरकारले लय नगुमाएको भन्दै उहाँले आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको दाबी गर्नुभयो ।
मन्त्री शर्माले सरकारको ध्यान सुशासनमा केन्द्रित रहेको बताउनुभयो । ००००




