कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना

निर्वाचन परिणामको समिक्षा गर्न महासमिति बैठक बोलाउने सभापति देउवाको प्रस्ताव केन्द्रीय सदस्यहरुद्वारा अस्वीकार

रमेश वाग्ले

काठमाडौं, ४ माघ । निर्वाचनमा नराम्ररी पराजित भएको कांग्रेस निर्वाचन सम्पन्न भएको झन्डै डेढ महिनापछि बल्ल हारको समीक्षामा जुटेको छ । युवा नेता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबमा सुरु भएको केन्द्रीय समिति बैठकमा नेतैपिच्छेका धारणा आएका छन् । तर, विचारको मन्थनबाट चित्तबुझ्दो निचोड निस्किनेमा नेताहरू नै ढुक्क छैनन् ।

समानुपातिकमा ३३ प्रतिशत मत ल्याएर पनि प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको कांग्रेस धेरै गाह्रो गरी समीक्षामा जुटेको छ । बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनपछि मात्र पूर्ण समीक्षा हुने भन्दै अहिले राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । तर, नेताहरूले त्यसलाई सिधै अस्वीकार गर्दै सभापतिलाई असफल भएको आरोप लगाएका छन् ।

वरिष्ठ नेता, सात युवा नेता र स्वयं महामन्त्रीको दबाबपछि केन्द्रीय समितिको बैठक डाकेका देउवाले बैठकको सुरुमै महासमिति बैठकसम्म पुग्ने कुरा स्वीकार गरेका छन् र पार्टीको असन्तुष्टि साम्य पार्ने प्रयत्न गरेका छन् ।

सभापति देउवाले केन्द्रीय नेताहरूलाई आश्वस्त पार्ने प्रयास जारी राखेका छन् । तर, नेताहरूचाहिँ देउवालाई यत्तिकै विश्वास गर्न नसकिने बताउँछन् ।

कांग्रेसमा निर्वाचनको पराजयबाट चरम निराशा र नेतृत्वप्रति पैदा भएको चरम असन्तुष्टि एकसाथ प्रस्तुत भइरहेको छ । केन्द्रीय सदस्य कल्याण गुरुङले चर्को असन्तुष्टि जाहेर गरेपछि सभापति देउवाले रुलिङ नै गरेर रोकेका छन् । कांग्रेसका पुराना नेता भने हारबाट निराश नभएर, त्यसले जितको पृष्ठभूमि पनि तयार पार्ने बताउँछन् ।

कांग्रेसभित्रका फरक–फरक धार र नेताका विभिन्न तर्कले नेतृत्वलाई पहिलो दिनमै अफ्ठ्यारोमा पारिदिएको छ । फरक–फरक विचारलाई मोथेर त्यसको गुदीसम्म पुग्न सके कांग्रेसलाई ऊर्जा मिल्नसक्छ । तर, नेताहरुको विचार मन्थन लम्बिदै जाने र अब पनि सबैले पार्टीलाई आफू अनुकुलमात्र हिँडाउन खोज्ने हो भने कांग्रेस पार्टी नरहेको गुटहरूको महासंघमा सीमित हुनसक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);