पुष्कर भट्ट ||
कञ्चनपुर, असोज २७ ||
महाकाली पारीको दोधाराचाँदनीमा ‘लागुऔषध त्यागौँ, सुखी जीवनतर्फ लागौँ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘डे नाईट क्रिकेट’ प्रतियोगिता शुरु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ को खेल मैदानमा सुदूर मिडिया डे नाइट क्रिकेट कप प्रतियोगिताको शुरु भएको हो ।
नगरक्षेत्रकोे क्रिकेट विकासका साथै बढ्दो लागूऔषध दुव्र्यवसनीलाई न्यूनिकरण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । दोधारा चाँदनी नगरपालिकाको साझेदारी तथा कञ्चनपुर जिल्ला क्रिकेट संघको सहकार्यमा सुदूर मिडिया प्रालिले क्रिकेट प्रतियोगिता आयोजना गरेकोे हो । पछिल्लो समय क्रिकेटमा चासो बढेकोले नगरको क्रिकेटलाई उकास्न टेवा पुग्ने विश्वासले प्रतियोगितामा साझेदारी गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य बेलबहादुर रानाले औपचारिक रुपमा प्रतियोगिताको उदघाट्न गर्नुभएको थियो । उदघाट्न कार्यक्रमकमा रानाले खेलाडीको माध्यमबाट अहिले विश्वमै नेपालको नाम चिनिएको हुँदा सरकारले क्रिकेट क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।
प्रतियोगिताको विजेताले ७५ हजार नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ । उपविजेताले ३५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र हात पार्ने छ । म्यान अफ दि सिरिज हुने खेलाडीलाई ५ हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ३\३ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दोधारा चाँदनीका १० वटै वडाका टीमलाई दर्ता निःशूल्क गरिएको छ। प्रतियोगितामा विभागीय सहित १६ टीमको सहभागीता रहेको छ ।




