नवलपरासी, ४ माघ । नवलपरासीका मुस्लिम विद्यार्थी भारतको मदरास बोडरमा उर्दु अरबीको परीक्षा फाराम भर्नबाट वञ्चित भएका छन् ।
मार्कसिटका लागि भारतीय मदरसा बोडरले ‘आधार कार्ड’ नभएकाहरूले फाराम भर्न नपाउने निर्णय गरेपछि हजारौ नेपाली विद्यार्थी परीक्षा फाराम भर्नबाट वञ्चित भएका हुन् । भारतको उत्तर प्रदेश राज्यले यूपी मदरसा बोर्ड लखनउको परीक्षा फाराम भर्न सबै विद्यार्थीलाई आधार कार्ड अनिवार्य गरेको छ । नेपालबाट १० हजारभन्दा बढी मुस्लिम विद्यार्थी उच्च शिक्षाका लागि भारत गएका छन् । यूपी मदरसा बोर्ड लखनउले नेपाली नागरिकताका आधारमा फाराम भर्न नमानेपछि समस्या आएको छ ।
नवलपरासीमा मात्रै उर्दु अरबी शिक्षा हासिल गर्ने दुई हजारभन्दा बढी विद्यार्थी छन् । नेपाल सरकारले उर्दु शिक्षाका लागि मदरसाहरुमा कक्षा ५ सम्ममात्र अध्ययन–अध्यापन गराउने गरेको छ । भारतले मदरसाहरुमा उर्दु अरबी शिक्षाको कक्षा १० का लागि मौलवी, प्लस टुका लागि आलिम, स्नातकका लागि कामिल र स्नातकोत्तरका लागि फाजिल कोर्सहरूमा अध्यापन गराउँदै आएको छ ।