एजेन्सी, २४ असोज । इजरायल र हमास युद्धको आज पाँचौं दिन हो । इजरायलले गाजामा हमासका २०० स्थानमा रातारात आक्रमण गरेको छ । इजरायल र हमासबीचको युद्धमा हालसम्म १ हजार ७३० जनाको मृत्यु भइसकेको छ । मंगलबार राति अमेरिकाको पहिलो यातायात विमान गोला बारुदसहित इजरायलको नेभाटिम एयरबेसमा पुगेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग युद्धको अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार राति ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले अमेरिका इजरायलको साथमा रहेको बताए ।
बाइडेनले भने– इजरायलमा १ हजार मानिसको अमानवीय हत्या भएको छ । जसमा १४ अमेरिकी नागरिक मारिएका थिए । इजरायलमा नरसंहार भएको छ । इजरायलसँग यस आक्रमणको जवाफ दिने अधिकार छ । यो आतंकवाद हो, तर दुखको कुरा यहूदी जनताका लागि यो कुनै नयाँ कुरा होइन ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायलसँग ऐक्यबद्धता जनाउनका लागि विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज इजरायल प्रस्थान गर्ने जनाएको छ । उनी बिहीबार इजरायल पुग्ने अपेक्षा गरिएको छ ।




