काठमाडौं, २२ असोज । दसैंमा घर जाने टिकट लिनेहरूका लागि आजबाट अग्रिम बुकिङ खुला भएको छ । सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेपछि गोगंबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि टिकट बुकिङ गर्नेहरूको भीड लागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको छ । घर जाने टिकट नपाइने डरले किशोर–किशोरीदेखि ज्येष्ठ नागरिकसम्म बसपार्कमा बिहानै लाइन बसेका छन् । लाइनमा उकुसमुकुस भए पनि घर जाने दिन नजिकिएपछि यात्रुहरू उत्साहित देखिएका छन् ।
हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । यही असोज २७ गते पितृपक्ष सकिएसँगै २८ गतेदेखि यो वर्षको दसैं सुरु हुँदैछ । २८ गते घटस्थापना रहेको छ भने कात्तिक विजया दशमी अर्थात टीका छ । चार गते फुलपातीको दिनदेखि ९ गतेसम्म दशैंको सार्वजनिक बिदा दिइएको छ ।




