८ वर्षीय बालकको स्कुल होस्टलमा झुन्डिएर मृत्युपछि आन्दोलनकारी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

८ वर्षीय बालकको स्कुल होस्टलमा झुन्डिएर मृत्युपछि आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत, १४ असोज। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहानैदेखि अशान्त भएको छ । शुक्रबार साँझ उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षका बालकको होस्टलमा झुन्डिएर मृत्यु भएपछि वीरेन्द्रनगर बजार र आसपासको क्षेत्र तनावग्रस्त बनेको हो ।

वीरेन्द्रनगर नगरपालिका–६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षका बालक मृत भेटिएका थिए । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका सलाम पुलामी मगर झुन्डिएको अवस्थामा फेला परेपछि विद्यालय क्षेत्रमा पूरै अशान्त बनेको प्रहरी प्रशासनले जनाएको छ । घण्टाघर नजिकको उक्त होस्टेलमा शुक्रबार साँझ ५ बजे बालक झुन्डिएको अवस्थामा फेला परेको अवस्थामा प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण शाहीले बताउनुभयो । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरू विद्यालमा तोडफोड र आगजानीमा उत्रिएका छन् भने उनको शव अझै उठाउन दिएका छैनन् । आन्दोलनमा उत्रिएकाहरूले स्कुलमा तोडफोडबाट लाखौंको क्षति गरेका छन् । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिनका लागि अश्रुग्याससमेत प्रहार गरेको थियो । बालकको शव शनिबार साँझसम्म पनि आफन्तले उठाउन दिएका छैनन् । बालकका एक आफन्तले भने– ‘यो घटना शंकास्पद छ । यसको तथ्य पत्ता नलाग्दासम्म हामी शव उठाउन दिँदैनौं ।’

शवको मुचुल्का भए पनि आफन्तले शव उठाउन नमानेपछि शवलाई अहिले प्रहरी सुरक्षा घेराभित्र रहेको डीएसपी शाहीले जानकारी दिनुभयो । विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले अनुसन्धानका लागि होस्टेल सञ्चालक र विद्यालयका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ‘घटना संवेदनशील छ’, डीएसपी शाहीले भन्नुभयो– ‘घटनाका बारेमा थप अनुसन्धानका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएइएको छ, शवको मुचुल्का भइसके पनि आफन्तले शव उठाउन मानिरहेका छैनन् । हामी अनुसन्धानमै छौं ।’

यसैबिच वीरेन्द्रनगरमै अर्का एक बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिकाका पाँच वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको हो । बालकको मृत्युपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् । दुर्घटनामा गम्भीर घाइते पुरीको उपचारको क्रममा शनिबार बिहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरूले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका हुन् । आन्दोलनकारीहरू बजार बन्द गराउँदै चोकमा टायर बालेर प्रर्दशन गरेकाले भीडलाई नियन्त्रणमा लिनका लागि बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडी चोकमा झडपसमेत भएको थियो । चालकको लापर्बाहीले बालकको ज्यान गएको भन्दै प्रहरी प्रशासनले घटनालाई हल्का रूपमा लिएर न्याय दिन वञ्चित गराउन सक्ने आफन्तले आरोप लगाएका छन् । फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

ठक्कर दिने मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी लक्ष्मण शाहीले बताउनुभयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दुवै घटनाको मृतक पक्षसँग छलफल भइरहेको बताउनुभयो । ‘दुवै घटनाका आफन्तहरूसँग छलफल भइहरेको छ । उहाँहरू सहमतिमा पनि आइसक्नुभएको छ । तर, केही बाहिरका व्यक्तिहरू आन्दोलनमा घुसेर उग्र बनाउने काम भइरहेको छ’ –प्रजिअ सापकोटाले भन्नुभयो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);