काठमाडौं, ११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नेतृत्व छान्न आज मतदान हूँदैछ । गत असोज ८ गतेदेखि काठमाडौंमा जारी अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि चुनाव हुने बताइएको छ । तर अहिलेसम्म दाबी विरोध सकिएको छैन् । दाबीविरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसपटक एमाले बाग्मतीले भोटिङ मेसिनको प्रयोग गर्दैछ । मेसिनमार्फत भोटिङ गर्न एक जनालाई करिब २० मिनेट लाग्नेछ । बाग्मतीका ११ सय ६४ जना मतदाता रहेका छन् ।
निवर्तमान कमिटीका अध्यक्षका तर्फबाट केशव पाण्डेले राजनीतिक–सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने कार्यक्रम छ । १ लाख नौ हजार २३८ प्रतिनिधिबाट प्रदेश अधिवेशनका लागि १ हजार १५० बढी प्रतिनिधि सर्वसम्मत चुनिएर आएका छन् । ९ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि पनि चुनिएको प्रदेश कमिटी सदस्य पुरूषोत्तम आचार्यले जानकारी दिए। उनका अनुसार ५६ जना प्रतिनिधि मनोनीत भएका छन् । संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गरेको हो ।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापकै केशरबहादुर बुढाथोकी, नुवाकोटका केशव पाण्डे रहेका छन्। उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहेका छन् । त्यसैगरी, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी रहेका छन् । यस्तै उपसचिवमा दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ, रीता गौतम ढकाल उपसचिवमा उम्मेदवारी दिएका छन् ।




