काठमाडौं, १२ असोज । निकै रस्साकस्सीबीच भएको सर्वसम्मत प्रयासपछि नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्वका लागि अन्त्यमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । एमाले वागमती प्रदेश कमिटीको अध्यक्षका लागि दर्ता गरेको ५ जनामध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच मात्र प्रतिस्पर्धा हुने भएको हो ।
बिहीबार अबेररातसम्म भएको सर्वसम्मतको प्रयास स्वरुप केशर बुढाथोकीले , केशवराज पाण्डे, सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिनु भएको हो । अब अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको मात्र प्रतिस्पर्धा हुने भएको छ । २ दिन भनेर मंगलबार सरुभएको एमालेको बागमती जिल्ला अधिवेशन नेतृत्वका लागि धेरै आकांक्षी भएपछि सर्वसम्मतीको प्रयासमा लम्बीएको हो ।
अध्यक्षका प्रत्यासी ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूको समर्थन छ । कृष्ण दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायत नेताहरूको समर्थन छ । अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको हो ।पार्टी कार्यालय, च्यासलमा भोटिङ मेसिन प्रयोग गरेर नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि ४० वटा भोटिङ मेसिन प्रयोग हुने छ । भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने छ । एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्।




