काठमाडौँ, २ असोज । सरकारले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ। देशभरबाट आज शिक्षकहरु काठमाडौंमा आउँदैछन् ।
मन्त्रालयले विज्ञप्तिमार्फत महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल गरी पेस गरिएका सुझावलाई यथाशक्य समावेश गरिएको उल्लेख गरेको छ। मन्त्रालयले महासङ्घलाई आन्दोलनलाई स्थगन गर्न पनि आग्रह गरेको छ ।