आरोपित भन्छन्–‘चार जनाको हत्या गरेपछि दिदीको घर पेप्सिकोलामा गएर सुते’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आरोपित भन्छन्–‘चार जनाको हत्या गरेपछि दिदीको घर पेप्सिकोलामा गएर सुते’

काठमाडौं, १ असोज । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको हत्या काण्डमा संलग्न रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको छ । प्रहरीले उक्त हत्या काण्डका एकमात्र आरोपित सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका भण्डारी बोल्न सक्दैनन् । उनी जन्मजात बहिरा हुन् । शुक्रबार मध्यरातमा उक्त घटना भएपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा अनुसन्धान गर्न समिति गठन गर्नुभएको थियो । सोही समितिले अनुसन्धान गर्ने क्रममा भण्डारीलाई सीसीटिभी फुटेजको सहयोगमा पक्राउ गरेको एसएसपी राठौरले बताउनुभयो ।

चार जनाको हत्या गरेपछि घटनास्थलबाट भागेर पेप्सिकोलास्थित दिदीको घरमा पुगेर भण्डारी सुतेका थिए । उनले रिसिइवीका कारण ४ जनाको हत्या गर्न पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न भण्डारीले पत्रकार सम्मेलनमा प्रहरीलाई सांकेतिक भाषामा ‘म कतिखेर घर जान पाउँछु, फोटो किन खिचेको’ भनेर पटक–पटक प्रतिवाद गर्न खोजेका थिए ।

चार जनाको हत्या गरेपछि दिदी–भिनाजुको घरमा बसेका उनी भोलिपल्ट साथीहरुसँग आफू पढ्ने स्कुल नक्साल पुगेका थिए । प्रहरीले आफूलाई पक्राउ गर्छ भन्ने डरले भण्डारी दिदी–भिनाजुको घरबाट भागेर आफ्नो घर जाने तयारी गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुंगेल बताउनुभएको छ ।

भण्डारीले सांकेतिक भाषामार्फत उक्त घटनाको जिम्मेवारीे लिएको र केही समयअघि नवीन राईसँगको रिसिइवीका कारण उनले सबैको हत्या गरेको प्रहरीले दाबी गरेको छ । केही महिनाअघि बाटोमा हिँडिरहेका भण्डारीलाई मृतक राईको मोटरसाइकलले ठक्कर दिएपछि उनीहरुबीच दुस्मनी बढेको देखिन्छ । राईले आफूलाई अपमानजनक ढंगले मोटरसाइकलले ठक्कर दिएको र आफूलाई गाली गरेको भन्दै भण्डारीले राईसँग बदला लिने प्रण गरेको पनि बयानमा उल्लेख गरेका थिए ।

उनीहरूबीच केही समयअघि जम्काभेट भएपछि भण्डारी राई बस्ने ठाउँको खोजीमा लागेको र राई बस्ने कोठा देखेपछि भण्डारी बदला लिने सोचमा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्या गर्ने दिन दिदी–भिनाजुको घरमा रहेको खुकुरी आफ्नो झोलामा हालेर गैरीगाउँस्थित दिव्य समिलमा आएका भण्डारीले राई बस्ने कोठामा पुगी हत्या गरेको बयान दिएका छन् । राईमाथि खुकुरी प्रहार गरिरहेका भण्डारीले अर्को मान्छे चिच्याएको जस्तो लागेर अर्को तलामा गएर कुमार भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेललाई पटक–पटक खुकुरी हानेर हत्या गरेका थिए । त्यसपछि उनी त्यहाँबाट भाग्न लागेका बेला दीपेन्द्र राई आएको देखेपछि समिलको पछिल्लो ढोकाबाट निस्केर पेप्सिकोलास्थित दिदी–भिनाजुको निवासमा पुगेको एसएसपी राठौरले जानकारी दिनुभयो ।

उक्त घटनाका बारेमा जानकारी दिन प्रहरी चौकरी पुगेका दीपेन्द्र राईलाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेर राखेको भए पनि घटनामा उनको संलग्नता नदेखिएकाले आइतबार साँझ नै छाडेको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);