काठमाडौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ । मंगलवर प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।
उहाँले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताउनु भयो । त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिनुभयो । त्यस्तै प्रधानमन्त्री दाहालले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोड रुपैयाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी १० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘देशका विभिन्न भागमा आँखा पाक्ने (अक्युट भाइरल कन्जङ्कटिभाइटिस) संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ । समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेका छन् । हाल नेपालको कुल जडित विद्युत क्षमता करिव २८ सय मेगावाट पुगेको छ । तर मुलुकको विद्युत उत्पादनको परिमाण हिउँद र वर्षा याममा एकनासको छैन । वर्षातको तुलनामा हिउँदमा विद्युत उत्पादनमा निकै ह्रास आई झन्डै एक तिहाइ मात्र हुने गर्दछ । हाल विद्युत उत्पादन र मागको आधारमा विद्युतको निर्यात र आयातको व्यवस्था मिलाउने गरिएको छ । खासगरी हिउँद याममा नदी प्रवाहमा आधारित विद्युत प्रणालीबाट उत्पादित विद्युतमा ठूलो ह्रास आउने हुँदा छिमेकी मुलुकबाट बिजुली आयात गरी आन्तरिक माग धान्नुपर्ने स्थिति छ । आगामी केही वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले स्वदेशमै पर्याप्त बिजुली उत्पादन गर्न विभिन्न स्तरका आयोजनाको निर्माणलाई अघि बढाइनुका साथै विद्युत प्रशारण तथा वितरण प्रणालीको कामलाई बिस्तार गर्दै लगिएको छ। अहिले विद्युत आयात–निर्यातको दर दैनिक रूपमा प्रतिष्पर्धा गरी तय हुने गरेको छ । यस वर्ष तुलनात्मक रूपमा हिउँदको समयमा अधिक सुख्खा हुनगई देशभित्रका विद्युत आयोजनाहरूबाट विद्युत उत्पादन कम हुन गएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत रु. १८ अर्ब ५४ करोडमा आयात गरेको थियो भने नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी रु. १० अर्ब ४३ करोड आम्दानी गरेको थियो । गत वर्षको तुलनमा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको छ र क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने कुरा जानकारी गराउन चाहन्छु । रुस र युक्रेन युद्धका कारण कोइलाको आपूर्ति असहज भई छिमेकी मुलुकमा विद्युतको उत्पादन लागत बढ्न गएकोले पनि स्वदेशमा विद्युतको उत्पादन कम हुने समयमा आन्तरिक माग पूरा गर्न प्राधिकरणले केही महँगो मूल्यमा बिजुली आयात गर्नुपरेको कुरा स्पष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले गत वर्षको तुलनामा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने बताउनु भयो ।