डडेल्धुरा ४ भाद्र । सुदूरपश्चिमको एकताको प्रतिक तथा सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व बिरुडा पञ्चमी अर्थात आजबाट बिरुडा राखेर बिधिवत रुपमा गौरापर्व शुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरिन्छ । तामा पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ । बिरुडालाई ‘गौरीको प्रसादका रुपमा लिईन्छ ।
पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ । प्रतिप्रदामा लिपपोत गर्ने, द्वितिया, तृतियमा व्रतालुले लत्ताकपडा धुने नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने लगायतका काम गरिन्छ । तिनै केलाईएका विरुडा पञ्चमीमा भिजाएर गौराको बिधिबत् शुरुवात गरिन्छ । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ ।
सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन् । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ । गौरा भित्र्याइसकेको गौराको बास्तबिक रमझम शुरु हुन्छ । यी सबै कामहरु गर्दा मंगल गानका रुपमा ‘मांगल’ गीत गाउने प्रचलन रही आएको छ । गौराघरमा भित्र्याएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निङ्गालोबाट बनेको डालोमा पूजाआजा र फाँग गीत गाउँदै राखिन्छ ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ । गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ । यसै दिनदेखी ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । हिजोआज भने गौराका अरु दिनहरुमा पनि देउडा खेल्ने गरिएको पाइन्छ । गौरालाई यसक्षेत्रमा गौरा बाहेक, गमरा, गोःरा, गवरा आदी नामले पनि सम्बोधन गरिन्छ ।