भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा महरामाथि अभियोजन अघि बढ्ने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा महरामाथि अभियोजन अघि बढ्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताउनुभएको छ ।

मंगलबार बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अभियोजन प्रक्रिया अघि बढ्ने भन्दै गृहमन्त्रीसहित सीआईबीसँग आफूले सोधेको जानकारी दिनुभयो । प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको भन्दै उहाँले यो विषयमा अनुसन्धान अघि नबढाए अहिले गरेका अरु सबै कामको पनि अर्थ नहुने जस्तो देखिएको उल्लेख गर्नुभयो ।

पूर्वसभामुखसमेत रहनुभएका महरा र छोरा राहुल महरा चिनियाँ नागरिक वाङसँगको सुन तस्करीमा मुछिएका छन् । उनीहरु दुवैले ई–सिगरेटबाट नेपालमा सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग २३४ पटकभन्दा धेरै फोन सम्पर्क गरेको खुलिसकेको छ ।

प्रहरीको प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएको छैन । प्रधानमन्त्री प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छानबिन हुने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३ सय ४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लाग्नुभएका प्रधामन्त्री प्रचण्डले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);