एजेन्सी, २९ पुस । भारतमा सर्वोच्च अदालतका चार न्यायाधीशको आलोचनापछि प्रधानन्यायाधीश दीपक मिश्राले उनीहरुविरुद्ध कुनै कदम नचाल्ने सर्वोच्चकै एक उच्च अधिकारीले बताएका छन् ।
सरकारका वरिष्ठ कानून अधिकारी केके वेणुगोपालले यो अदालतको आन्तरिक समस्या भएकाले विवेकपूर्ण ढंगले यसको समाधान गर्नुपर्ने बताएका हुन् । हिजो दुई नम्बर न्यायाधीशहरु जे चेलमेश्वर, रंजन गोगोई, मदन लोकुर र कुरियन जोसेफले अनियमितताको प्रश्न उठाउँदै प्रधानन्यायाधीश विरुद्ध पत्रकार सम्मेलन गरेका थिए ।
उनीहरुले मिश्रामाथि न्यायालयको स्वतन्त्रता र निष्पक्षता बचाउन नसकेको गम्भीर आरोप लगाएका छन् । भारतीय इतिहासमै पहिलो पटक कुनै प्रधानन्यायाधीशविरुद्धमा न्यायाधीशहरुले गरेको मोर्चाबन्दीलाई लिएर विभिन्न चर्चा भइरहेको छ ।
तर, सर्वोच्चकै केही उच्च अधिकारीले भने यो विषयलाई आन्तरिक सहमतिमा हल गर्नुपर्नेमा जोड दिएका बीबीसी हिन्दीले उल्लेख गरेको छ।