धादिङ,२२ साउन । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवकुमार कार्की हराएको २१ दिन भयो । गाउँकै इन्द्र कँडेलसँग काठमाडौँ घुम्न गएपछि बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ मा रहेको हुक्का बारमा बियर लगायतको खानेकुरा खाएपछि गत असार ३१ गतेदेखि हराएको परिवारले जानकारी दिएको छ। हराउनुभन्दा अघि घरमा श्रीमतीलाई म आउँछु भन्ने खबर गरेका थिए भने १० दिनदेखि नियमित फोन सम्पर्क गरिरहेको कुमारी तिवारीसँग टेलिफोन गरेका थिए।
कुवेतबाट आएको चार महिनापछि हराएका शिवकुमार कार्कीको साउन २१ गते पुनः कुवेत वैदेशिक रोजगारीमा तयारीमा रहेको हराएका शिवका श्रीमती नानीमाया श्रेष्ठ कार्कीले बताइन् ।
शिवकुमार हराएको ५ दिनपछि साउन ४ गते इलाका प्रहरी कार्यालय बेनिघाटमा खोजी गरिदिन आग्रह गरिए पनि अवस्था पत्तो लाग्न सकेन। प्रहरीले कुमारी तिवारी, इन्द्र कँडेल लगायतका ४ जनालाई पक्राउ गरेको छ। पटक पटक पक्राउ गर्दै वडा अध्यक्ष रोशनकुमार सिलवालको जमानी इलाका प्रहरी कार्यालय गजुरीले छाडेपछि पीडित परिवार र कार्कीका छिमेकीहरु आक्रोशित भएका छन्।
शिवकुमार आफूले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटक पटक कल गरेको र अन्तिम पटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा शिवकुमारले प्रयोग गरेको चप्पल समेत भैसीगौडा भिरमा भेटिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले समेत खोजविन गरेपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाए पनि किटानी जाहेरी नआएकोले थप केही नगरेको बताएको छ। प्रहरीले गोताखोरको टोली ल्याएर त्रिशूली नदीको सम्भावित स्थानहरुमा खोजी समेत गरेको छ। चरौँदीको हुक्काबारमा खाजा खाएपछि कुमारी तिवारीकोमा गएको र सोही समयदेखि हराएपछि मुख्या तिवारीले नै कर्तव्य गरेको परिवारकोआरोप छ ।
घटना भएपछि बेनिघाट बजारबासीले पक्राउ गरिएकाहरुको मिलेमतोमा शिवकुमारको हत्या गरिएको हुनसक्ने भएकोले खोजी गर्दै कारबाही गर्नुपर्ने माग गरेका छन् । आरोपितहरुविरुद्ध किटानी जाहेरी हाल दर्ता नभए पनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
मानिस हराएको सम्बन्धमा खोजविन गरी कर्तव्य गर्नेहरुलाई कारबाहीको माग गर्दै बजारबासीले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन् भने बेनिघाट स्थित वडा नम्बर ५ को कार्यालयमा समेत धर्ना दिएको छन् । आइतबार बेनिघाट बजारमा शिवकुमारकोखोजि गर्न माग गर्दै सत्यतथ्य पत्ता लगाइ हदैसम्मको कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
आरोपित तिवारीलाई पटक पटक प्रहरी कार्यालयबाट जिम्मा लिएर वडा अध्यक्षले लगेको र हराएकाको खोजि गर्न नसघाएपछि बजारबासी वडाअध्यक्ष रोशन सिलवालविरुद्ध आक्रोशित भएका हुन् । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा आइतबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य पत्रा लगाइ दोषीमाथी कडा कारबाही गर्न माग गरिएको छ।
एकजना व्यक्ति हराएको २१ दिन भइसक्दा हराएका व्यक्तिको बारेमा जानकारी नहुने र खोजिनिति गर्न अनुसन्धान दायरा फराकिलो पार्नका लागि आग्रह गरिएको छ ।
युवासंघको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाईसमेत भेटेर अनुसन्धान छिटो गर्न र कुनैपनि राजनितिक दवावमा नपर्न आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले गरिरहेको अनुसन्धानले कुनै पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालयले शुक्रबारदेखि आफैँले अनुसन्धान गर्न थालेको र घटनाबारे पत्ता लगाएरै सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याइने प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । समाचारपत्र