काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको हो ।
सर्वोच्चको अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दुई दलका शीर्ष नेताबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन । अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीको प्रयास जारी रहेको छ ।
शनिबारको छलफलमा पनि कोशीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पमा छलफल भएको बताइएको छ । राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको बुझिएको छ ।