चन्द्रगिरीमा सभामुख र उपसभामुखहरुको भेला | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

चन्द्रगिरीमा सभामुख र उपसभामुखहरुको भेला

काठमाडौं । काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख र उपसभामुख लगायतको भेला सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार सकिएको हो । शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखेका छन् । दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्ने उहाँको भनाइ छ । सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिँदै नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएकाले आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

२०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् । यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । आइतबार संसद भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रियसभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरु सुनाउने कार्यक्रम राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);