काठमाडौं, २८ पुष । राष्ट्रिय योजना आयोगले बजेटमा मुख्य प्राथमिकता पाएका राष्ट्रिय गौरवका आयोजनाले अपेक्षित गति लिन नसक्दा विनियोजित बजेटको विकास खर्च हुन नसकेको बताएको छ । आयोगको पहिलो चौमासिक प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति नै विकास खर्च हुन नसक्नुको कारण भएको उल्लेख गरेको हो ।
प्रतिवेदनमा अन्तरमन्त्रालय समन्वय र निर्माण सामाग्रीको अभावलाई पनि आयोजना निर्माणको काम सुस्त हुनुको कारक बताइएको छ । सरकारले ठूलो प्रतिफल दिने २१ आयोजनालाई प्राथमिकताका साथ राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेको छ । चालू आर्थिक वर्षको बजेटले ती आयोजनाहरूमा ६३ अर्ब ७० करोड खर्च गर्ने लक्ष्य लिएको छ ।
अर्थ मन्त्रालयको तथ्यांकमा मङ्सिर महीनासम्ममा राष्ट्रिय गौरवका आयोजनामा ७ अर्ब ५२ करोड मात्रै खर्च भएको छ । उक्त खर्च विनियोजित कुल बजेटको ११ दशमलव आठ एक प्रतिशत मात्र हो । राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा सरकारको मुख्य प्राथमिकतामा रहेकामध्येबाट भेरी–बबई डाइभर्सन, रानीजमरा कुलरिया सिँचाइ, माथिल्लो तामाकोशी र बबई सिँचाइ गरी चार आयोजनाले मात्र सन्तोषजनक काम गरेको उल्लेख छ ।
ती बाहेकका अधिकांश आयोजनाले अपेक्षित खर्च गर्न नसकेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।




